जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०९:५३

दानबहादुर कार्कीको रिटमा सरकारको बचाउ गर्न आठ सरकारी वकिल सर्वोच्चमा उत्रिने


काठमाडौँ, मङ्सिर ९ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनविरुद्ध सरकारको बचाउमा आठ जना सरकारी वकिलले सर्वोच्च अदालतमा बहस गर्ने तयारी गरेका छन् ।

महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल र चार जना नायब महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सरकारका तर्फबाट प्रतिरक्षामा उत्रिन लागेका हुन् ।

कार्कीलाई आईजीपीबाट पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुँदैछ । सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै कार्कीले रिट दायर गर्नुभएको थियो ।

सरकारी पक्षले अन्तरिम आदेश जारी गर्न नहुने मागसहित कानुन, संविधान, सर्वोच्च अदालतका पूर्वनजिर र विगतका अभ्यासलाई आधार बनाएर बहस गर्ने तयारी गरेको छ ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र ध्रुवकुमार चौहान, वरिष्ठ सहन्यायाधिवक्ता दिनेश घिमिरे, सोमाकान्त भण्डारी तथा उपन्यायाधिवक्ता दशरथ पंगेनी बहसमा सहभागी हुने तयारीमा छन् ।

आजको सुनुवाइमा सुरुमा रिट निवेदक कार्कीका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलले सरकारको निर्णयको बचाउमा आफ्नो पक्ष राख्नेछन् ।

यसअघि मङ्सिर ७ गते न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, सुनुवाइ सुरु भएपछि नवनियुक्त आईजीपी मनोज केसीले सोही दिन अदालतको म्याद बुझेपछि सुनुवाइ अघि बढ्न सकेको थिएन ।

दुवै पक्षको बहस सकिएपछि केसीलाई आईजीपीका रूपमा काम गर्न रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको निर्णय हुनेछ ।

कार्कीले आफूलाई सुनुवाइको मौका नदिई र पर्याप्त आधार तथा कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै तिहारअघि सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उहाँले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्नुभएको छ ।

मन्त्रिपरिषद्ले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट पदमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारले मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।