जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १४:२१

रुपन्देहीको सालझण्डीमा सुरु भयो नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’


काठमाडौँ, मङ्सिर ९ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।

सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले शुभारम्भ गर्नुभएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने अभ्यास मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस संयुक्त सैनिक अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायतासम्बन्धी विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन् ।

यस किसिमको अभ्यासले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान, क्षमता र आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।