जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १४:२५

जापान पठाइदिने भन्दै १७ जनाबाट दुई करोड ४५ लाख ठगी, दाहाल पक्राउ


काठमाडौँ, मङ्सिर ९ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै १७ जनाबाट दुई करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ का ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रहरीका अनुसार दाहालले आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई जापान पठाइदिने आश्वासन दिँदै लामो समयसम्म झुक्यानमा राखेर रकम असुल गरेका थिए ।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा दाहालले पीडितहरूलाई शिरबहादुर गुरुङको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको छ । रकम जम्मा गर्न आग्रह गर्दा आफू नै शिरबहादुर गुरुङ भएको विश्वास दिलाउँदै रकम फिर्ता गर्ने लिखित कागजसमेत गराएको प्रहरीको भनाइ छ ।

यस प्रकरणमा हालसम्म १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरीले ठगीमा परेका अन्य व्यक्तिहरूलाई रकम भुक्तानी गरेको प्रमाण तथा आवश्यक कागजातसहित वैदेशिक रोजगार विभाग, ताहाचल वा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।