जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १७:४४

मोदीको तीन वर्षअघिको प्रतिबद्धता अधुरै, बालेनको भारत भ्रमणमा उठेन झुलाघाट पुलको मुद्दा


काठमाडौँ, मङ्सिर ९ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन भए पनि बैतडीको झुलाघाटमा प्रस्तावित पुल निर्माणको विषय भने प्राथमिकतामा पर्न सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्षअघि नै निर्माण गर्ने प्रतिबद्धता जनाएको पुलबारे यसपटक दुवै देशका प्रधानमन्त्रीबीच कुनै चर्चा नभएपछि स्थानीयवासी निराश बनेका छन् ।

सोमबार दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा निर्माण भएको नेपाल–भारत जोड्ने मोटरेबल पुल प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । भारतीय कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा निर्माण गरेको उक्त पुल सञ्चालनमा आएसँगै सीमा क्षेत्रमा आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

तर, छिमेकी जिल्ला बैतडीको झुलाघाटमा भने तीन दशकदेखि चर्चामा रहेको मोटरेबल पुल निर्माणको योजना अझै अलपत्र छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विषय पनि उठ्ने स्थानीयवासीको अपेक्षा थियो । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्तामार्फत सरकारको ध्यानाकर्षण गराइएको थियो ।

पुल निर्माणका लागि लामो समयदेखि दबाबमूलक अभियान चलाउँदै आउनुभएका बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दुवै देशका प्रधानमन्त्रीको भ्रमणमा झुलाघाट पुलको विषय नउठ्नु दुःखद भएको बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माणका लागि दुवै देशले यसअघि नै प्राविधिक अध्ययन गरिसकेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणबाट थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

तीन वर्षअघि मोदीको प्रतिबद्धता, कार्यान्वयन अझै भएन

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १८ जेठ २०८० मा भारतीय प्रधानमन्त्री मोदीले महाकाली नदीमाथि झुलाघाट र डडेल्धुराको शीर्ष क्षेत्रमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भारत सरकारको अनुदान सहयोगमा दुवै स्थानमा पुल निर्माण गर्ने सहमति भएको उल्लेख थियो । तर, तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।

त्यसपछि प्राविधिक टोलीले प्रस्तावित स्थानको निरीक्षण गरेको थियो । नेपालतर्फ बैतडीको मौराभिर र सालघारी क्षेत्र तथा भारततर्फ पिथौरागढ जिल्लाको झुलाघाटस्थित सशस्त्र सीमा बल (एसएसबी) क्याम्प आसपासको क्षेत्रलाई सम्भावित निर्माणस्थलका रूपमा हेरिएको थियो ।

प्रारम्भिक अध्ययनमा करिब ५०० देखि ५१० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव गरिएको थियो । यसको लागत भारतीय रुपैयाँ चार अर्ब ५० करोड आसपास अनुमान गरिएको थियो । पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरी भारत सरकारलाई पठाइएको नेपाली पक्षले जनाएको थियो ।

तीन दशकदेखि अध्ययन र आश्वासनमै सीमित

झुलाघाटमा मोटरेबल पुल निर्माणको चर्चा सन् १९९८ अर्थात् २०५५ सालदेखि सुरु भएको हो । प्रारम्भिक सर्वेक्षणपछि सन् १९९९ मा करिब ९० मिटर लामो पुलको डीपीआर तयार गरिएको थियो । त्यतिबेला पुल निर्माणको लागत ६ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको थियो ।

सन् २००० मा नेपाल र भारतबीच पुल निर्माण गर्ने सहमति भए पनि काम अघि बढ्न सकेन । सन् २००६ मा पुनः करिब १०५ मिटर लामो पुल निर्माणको प्रस्ताव गरिएको थियो । तर, प्रस्तावित क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको सम्भावित डुबान क्षेत्रमा पर्ने भएपछि प्रक्रिया रोकिएको थियो ।

२०७३ असोज २७ गते दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा पनि झुलाघाट, शीर्ष र दार्चुला क्षेत्रमा मोटरेबल पुल निर्माण गर्ने प्रस्तावबारे छलफल भएको थियो ।

२०७६ सालमा पुल निर्माणको माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । उद्योग वाणिज्य संघको अगुवाइमा रिले अनशन, हस्ताक्षर सङ्कलन र ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिएको थियो । त्यतिबेला १० हजार नागरिकको हस्ताक्षरसहित नेपाल सरकार र भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको थियो ।

झुलाघाटमा पुल निर्माण भए बैतडी र भारतको उत्तराखण्डस्थित पिथौरागढबीचको आवागमन सहज हुनुका साथै व्यापार, धार्मिक पर्यटन र पर्यापर्यटनमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । तर, पटकपटकका अध्ययन, सहमति र प्रतिबद्धताका बाबजुद पुल निर्माण अघि नबढ्दा स्थानीयवासीको दशकौँदेखिको प्रतीक्षा कायमै छ ।