काठमाडौँ, मङ्सिर ९ । नसालु पदार्थ खुवाएर व्यक्तिहरूलाई बेहोस बनाई शृङ्खलाबद्ध लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई नसालु पदार्थ खुवाएर बेहोस बनाएपछि लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ परेकाहरूको साथबाट सुनलगायत विभिन्न सामग्रीसमेत बरामद गरिएको छ।
पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्