जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार २१:०४

रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य 


काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्याण्डिडेट क्लब समिति गठन गरेको छ।

समितिका संयोजक कविन्द्र बुर्लाकोटीकाे शिफारिसमा पार्टीले सदस्यहरू मनाेनित गरेकाे हाे । जसमा डा. नमिता यादव, सुलभ खरेल, शिव यादव, पारसमणि गेलाल र हिमेश पन्त सदस्य रहनुभएको छ।

क्याण्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया बारे छलफल भएको छ। बैठकले उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत र पारदर्शी बनाउन मुख्यतः तीनवटा विषयलाई प्राथमिकतामा राखेको छ।

पहिलो, उम्मेदवार बन्न इच्छुक आकांक्षी तथा आवेदन दिएका व्यक्तिहरूबाट आवश्यक व्यक्तिगत विवरण, योग्यता, अनुभव तथा अन्य सम्बन्धित कागजात संकलन गर्ने विधि र प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको छ।

दोस्रो, पार्टीको परम्परागत सांगठनिक संरचनाभन्दा बाहिर रहेका विभिन्न क्षेत्रका योग्य, दक्ष र सक्षम व्यक्तिहरूलाई समेत उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले Lateral Entry (ल्याटेरल इन्ट्री) सम्बन्धी आवेदन फारम तयार गर्ने विषय अघि बढाइएको छ।

तेस्रो, उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोध (Claim and Objection) सम्बन्धी छुट्टै फारम तथा त्यसको आवश्यक प्रक्रिया तयार गर्ने विषयमा छलफल भएको छ।