जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार २१:५७

दशौँ राष्ट्रिय खेलकुद : पदक तालिकामा बागमती शीर्षस्थानमा, आयोजक कर्णाली अझै पदकविहीन


सुर्खेत, मंसिर ११ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायम राखेको छ । १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदक जित्दै बागमती प्रदेश शीर्षस्थानमा रहेको हो ।

स्वर्ण पदकको सङ्ख्याका आधारमा बागमती शीर्षस्थानमा रहे पनि कुल पदक सङ्ख्यामा भने नेपाली सेनाले अग्रता लिएको छ । नेपाली सेनाले १० स्वर्ण, १७ रजत र १७ कांस्य गरी कुल ४४ पदक जितेको छ । तर स्वर्ण पदक कम भएका कारण सेना पदक तालिकाको तेस्रो स्थानमा सीमित छ ।

त्यस्तै, १२ स्वर्ण, चार रजत र चार कांस्य गरी कुल २० पदक जितेको एनआरएनए दोस्रो स्थानमा रहेको छ ।

नेपाल प्रहरीले आठ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ४० पदक जित्दै चौथो स्थान हासिल गरेको छ । कोशी प्रदेशले तीन स्वर्ण पदक जितेको छ भने सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, चार रजत र एक कांस्य गरी सात पदक हात पारेको छ ।

एपीएफ क्लबले दुई स्वर्ण पदक जित्दै सातौँ स्थानमा रहँदा लुम्बिनी प्रदेशले दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ । गण्डकी प्रदेशले एक रजत र दुई कांस्य तथा मधेश प्रदेशले एक कांस्य पदक जितेका छन् ।

प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भने चौथो दिनसम्म पनि पदकको खाता खोल्न असफल भएको छ । आफ्नै प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहँदा पनि आयोजक कर्णालीले पदक जाेड्न सकेकाे छैन ।