जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार ०९:०१

दशौँ राष्ट्रिय खेलकुद : बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा



काठमाडौँ, मङ्सिर १२ । कर्णाली प्रदेशमा चलिरहेको दशौं राष्ट्रिय खेलकुदअन्तर्गत बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पौडी र शारीरिक सुगठनको संयुक्त नतिजाअनुसार अहिलेसम्म बागमती प्रदेश १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदकका साथ पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।

प्रतियोगितामा ४६ स्वर्णसहित एक सय ४० पदकका लागि भएको पौडीमा बागमती प्रदेश सर्वाधिक १६ स्वर्ण पदकसहित टीम च्याम्पियन बन्यो । उसले शारीरिक सुगठनमा हिजो एउटा पदक जितेको छ ।

त्यस्तै, गैरआवासीय नेपाली संघ ९एनआरएनए० १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरएनएले सबै पदक पौडी प्रतियोगिताबाट जितेको हो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब सर्वाधिक कुल ४४ पदकसहित तेस्रो स्थानमा छ । उसले १० स्वर्ण, १७ रजत र १७ कांस्य जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा छ । आर्मीले पौडीमा ७ स्वर्ण तथा शारीरिक सुगठनमा ३ स्वर्ण जितेको हो ।

नेपाल पुलिस क्लब ८ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ४० पदकसहित चौथो स्थानमा रहेको छ । पुलिसले पौडीमा ६ र शारीरिक सुगठनमा २ स्वर्ण जित्यो । अन्य टोलीमध्ये कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ, सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्यसहित छैटौं तथा एपीएफ २ स्वर्णसहित सातौँ स्थानमा रहेको छ ।

यस्तै, लुम्बिनी प्रदेशले २ रजत र २ कांस्य, गण्डकी प्रदेशले १ रजत र २ कांस्य तथा मधेश प्रदेशले १ कांस्य पदक जितेका छन् । सहआयोजक कर्णालीले अहिलेसम्म पदक जित्न सकेको छैन ।