काठमाडौं, मंसिर १३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लामा फर्किन आग्रह गर्नुभएको छ ।
शनिबार साँझ होल्डिङ सेन्टर पुग्नुभएकी मन्त्री रावलले काठमाडौंमा बस्ने ठाउँ नभएको भन्दै नागरिकता लिएको जिल्ला वा स्थानीय तहमा फर्किन आग्रह गर्नुभएको हो ।
होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका अनुसार मन्त्री रावलले काठमाडौंमा जग्गा उपलब्ध गराउन नसकिने बताउँदै जिल्ला फर्किन आग्रह गर्नुभएको थियो । तर, लामो समयदेखि काठमाडौंमा बस्दै आएका उनीहरूले जिल्ला फर्किने आधार नभएको भन्दै उक्त आग्रह अस्वीकार गरेका छन् ।
मन्त्री रावलले आवेशमा आएर निर्णय नगर्न र सोमबारसम्म शान्त भएर सोच्न आग्रह गर्नुभएको सुकुम्बासी दलमर्दन कामीले बताउनुभयो । मन्त्रीले सोमबार पुनः होल्डिङ सेन्टर आउने आश्वासन दिएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर, अधिकारकर्मी तथा राजनीतिकर्मीको विरोधपछि सुकुम्बासीलाई जबर्जस्ती हटाउने प्रयास रोकिएको थियो ।
यसबीच होल्डिङ सेन्टरमा रहेका परिवारलाई खाना र पानीको व्यवस्था गर्नसमेत रोकिएको भन्दै विरोध भएको छ । शनिबार पनि सरकारले खाना उपलब्ध नगराएपछि जेनजी अभियन्ताहरूले ल्याएको खाना उनीहरूले सडकमा बसेर खाएका थिए । मन्त्रीको भ्रमणपछि साँझ शान्ति सेवा संस्थाले पुनः खाना उपलब्ध गराएको समाचारमा उल्लेख छ ।
होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारको जग्गा भेटिएको र बाँकी १२ परिवारलाई नागरिकता जारी भएको स्थानीय तहमा फर्किन भनिएको छ । तर, जग्गा भेटिएको भनिएका परिवारले समेत आफ्नो नाममा जग्गा नभएको दाबी गर्दै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्