जनता टाइम्स

२३ पुष २०७६, बुधबार १२:४४

अमेरिकी सैन्य अड्डामा मिसाइल हमला : इरान भन्छ, ८० अमेरिकी सेना मारिए, ट्रम्प भन्छन, अल इज वेल !


काठमाडौं, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको आक्रमणबाट केही क्षति नभएको प्रतिक्रिया दिनुभएको छ । इरानले मिसाइल हमला गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । इरानले भने ८० भन्दा बढी अमेरिकी सेना मारिएको दावी गरेको छ ।

आफ्ना एक प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप आज इराकस्थित अमेरिकी सैनिक क्याम्पमा मिसाइल हमला गरेको हो । बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अड्डामा एकसाथ झन्डै दर्जन बढी मिसाइल हानेको हो । मिसाइल हमलाबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही क्षति नभएको दावी गर्नुभएको हो ।

ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, ‘अल इज वेल ! इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ । अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु ।’

यसअघि ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । ट्रम्पको सो भनाई आइरहँदा इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनका अनुसार बुधबार बिहानै मिसाइल आक्रमण गरी ‘इरानले ८० अमेरिकी आतंकवादी’ मारिदिएको छ । मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको थियो ।