जनता टाइम्स

२३ पुष २०७६, बुधबार १५:०७

समातिए लाख दिएर करोड असुल्ने राजपा नेता


काठमाडौं, पुस २३ । चर्को ऋण लगानी गरेर सर्वसाधारण ठगी गर्ने राजपाका नेता रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ठाडो आदेशमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई आज पक्राउ गरेको हो ।

यादव राजपाका केन्द्रीय सदस्य हुन । उनलाई सर्लाहीको हरिपुर चेकप्वाइन्टबाट पक्राउ गरिएको जिप्रका सर्लाहीका डिएस्पी प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । चर्को ऋण लगानी गरेर सोझासिधा सर्वसधारण ठगी गरेको भन्दै सर्लाहीका तीन दर्जन पीडित काठमाडौं आएपछि उनलाई पक्राउ गरेको हो । सर्लाही वरहथवाका रामवावु राय यादव र ब्रह्मपुरी भित्रुवनगरका सन्जय साह रौनियारले आफूहरुमाथि ठगी गरेको भन्दै पीडित न्यायको खोजी गदै काठमाडौं आइपुगेका हुन ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य डाचाराज वाग्लेको सम्र्पकमार्फत काठमाडौं आइपुगेका उनीहरुले मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालदेखि गृहसचिव र प्रहरी प्रमुखसम्मको उपस्थितीमा आफ्नो पीडा सुनाएका थिए । दाहाल निवास खुमलटारमा मंगलबार पुगेका पीडितले दाहाल, वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी खनाल र गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीको उपस्थितीमा आफूहरु ठगिएकोबारे जानकारी गराएका हुन ।

यसरी काठमाडौं आउनेमा सर्लाही जानकी नगरपालिकाका रामविहारी महतो, वरहथवाका असर्फी महतो, विन्देश्वर महतो, कपुरी ठाकुरलगायत तीन दर्जन रहेका छन । पीडितको पीडा सुनेपछि आइजीपी खनालले मंगलवार नै सर्लाही प्रहरीलाई पक्राउका लागि आदेश दिनुभएको थियो । खनालको आदेशपछि खोजी सुरु गरेको सर्लाही प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।