जनता टाइम्स

२६ पुष २०७६, शनिबार ११:४५

नेकपासहित ६ दलको सयुक्त प्रस्ताव दर्ता : राजधानी हेटौंडा, नाम वाग्मती


हेटौंडा, पुष २६

प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा, कांग्रेससहित ६ दलले प्रदेश सभामा संयुक्त प्रस्ताव दर्ता गरेका छन् । ती दलहरुले शनिबार प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् । योसँगै प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा रहने निश्चित बनेको छ ।

स्थायी राजधानी हेटौंडालाई कायम गर्ने प्रस्तावकमा प्रदेश ३ का मुख्यमन्त्री रहेका नेकपा नेता डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ छन् ।

वाग्मती नाम राख्नु पर्नेमा कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक, समर्थकहरुमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छन् ।

सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो । यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेमकिपा भने मौन देखिएको छ । उसको प्रदेशसभामा २ सांसद छन् । दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै दिउँसो १ बजेबाट बस्ने प्रदेशसभा बैठकमा छलफल प्रारम्भ हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशसभा दर्ता भएको स्थान र नामको विषयमा सदनमा छलफल सकिएपछि आइतबार निर्णयार्थ पेस गरिने सचिवालयले जनाएको छ । यसअघि सदनमा गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम प्रदेशसभा सदस्यहरुले दर्ता गराएका छन् ।