जनता टाइम्स

११ माघ २०७६, शनिबार १८:०३

सबैको साझा मनोविज्ञानले प्रदेशको राजधानी तोकिने मुख्यमन्त्री पोखरेलको घोषणा


बुटवल, माघ ११

प्रदेश–५ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानीका विषयमा साझा मनोविज्ञानले काम गर्नुपर्ने बताउनु भएको छ । उहाले राजधानीका विषयमा कसैले पनि दम्भ देखाउन आवश्यक नभएको बताउनु भयो ।

प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडे । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउँछु भनेर चुनाव लड्नुभो । अब मेरो पनि कुनै निजी विचार छैन । महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोस्न\बोल्नुहोस् ।’

उहाले सहमतिकै आधारमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउँने घोषणा समेत गर्नुभयो । ‘पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउन आवश्यक छ,’ उनले भने, ‘राजधानीको विषयले जोड्ने हो । विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताइन्छ ।’

मुख्यमन्त्री पोखरेलले कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा विना समाचार लेख्न नहुने बताउनु भयो । प्रेस संगठनमा आवद्ध पत्रकारहरू वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले औंल्याउनु भयो । केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारले बोक्नुपर्ने अवस्थाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उहाको भनाई छ ।