जनता टाइम्स

१३ माघ २०७६, सोमबार १४:५७

देउवाकैसामू कांग्रेस मुख्यालयमा बिद्यार्थीबीच कुटाकुट


ललितपुर, माघ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिद्यार्थी नेताहरुबीच कुटाकुट भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच आज पार्टी कार्यालयमै कुटाकुट भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको थियो । नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीहरुले प्रतिकार गरेको बताएका छन भने काफ्ले समुहले सभापति देउवाको निर्देशनमा गुण्डागर्दी भएको बताएको छ ।

‘पार्टी सभापति बैठकका लागि पार्टी कार्यालयमा प्रवेश गर्दै हुनुहुन्थ्यो । पार्टी कार्यालयकै प्रवेशद्वारमा अनशनरत समूहले अवरोध सिर्जना गर्यो,’ काफ्ले समुहलाई कुटपिटमा उत्रिएका एक बिद्यार्थी नेताले भने, ‘पार्टी सभापतिलाई अवरोध सिर्जना गरेपछि हाम्रो समूहबाट प्रतिकार भएको हो ।’ कांग्रेसले आज नेविसंघको केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि काफ्ले समूह विरोधमा उत्रिएको हो । उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ ।

काफ्ले समूह विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै आएको छ । प्रहरीले भने निवर्तमान महामन्त्री काफ्ले भाषण गर्दै गर्दा केही विद्यार्थीले गमला प्रहार गरेको बताएको छ । ‘काफ्ले आफ्नो असहमति राखिरहुनभएको थियो । एकाएक भिडमा गमला प्रहार भयो, केही विद्यार्थी घाइते भएका छन,’ सानेपामा रहेका एक प्रहरीले भने ।