जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १७:०५

एमसीसीमा सैन्य शब्द नरहेकाले स्याल हुइयाँ नमच्चाउन सरकार प्रवक्ताको आग्रह


काठमाडौं, माघ १६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सैन्य गठबन्धन जोडिएको भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको बताउनु भएको छ । उहाले सम्झौताको कुनैपनि बुँदामा सैन्य शब्द नभएको बताउनु भयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले एमसीसीमा सैन्य गठबन्धन नजोडिएको दाबी गर्दै स्याल हुइया नगर्न आग्रह गर्नुभयो । ‘एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ’,उहाले भन्नुभयो । सरकारका प्रवक्ता बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याउनु भयो ।

उहाले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै आफूहरु व्याख्यता नरहेको बताउनु भयो । ‘हामी कसैको सैन्यगठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ। हामी हाम्रो स्वार्थको व्याख्यता हो’, उहाको भनाई थियो ।