काठमाडौं, माघ १९
प्रधानमन्त्री केपी ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने उपयुक्त स्थानको व्यवस्था तत्काल गर्न निर्देशन दिनु भएको छ । त्यहा रहेका नेपालीलाई विमान चार्टर गरेरै भएपनि ल्याउने तयारी भईरहेका बेला प्रधानमन्त्री ओलीले सम्वन्धित मन्त्रालय र सरोकारवालालाई सो निर्देशन दिनु भएको हो ।
नेपालीका विषयमा चिन्ता प्रकट गर्दै प्रधानमन्त्री ओलीले फर्किएपछि उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन निर्देशन दिनुभएको छ । राजधानी नजिकको सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको छ । स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई शनिवार साँझ एकै स्थानमा राखेर छलफल गर्दै प्रधानमन्त्री ओलीले उद्धारमा कुनै कमि नराख्न भन्नुभएको छ ।
नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाउनु भएको हो । विमानस्थलमा तयारीलगायत विषयमा पनि उहाले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिनुभयो । ‘हाम्रो सुरक्षा तयारी र त्यहाँ (चीनमा) रहेका नेपाली नागरिकको अवस्थाबारे प्रधानमन्त्रीले बुझ्नुभयो’, बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, ‘त्यसपछि गर्नुपर्ने तयारीबारे सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ।’
चीनमा रहेका नेपालीको पीडा थाहा पाएपछि प्रधानमन्त्रीले बैठक राख्नु भएको हो । चीनबाट नेपालीहरू तत्काल नेपाल फर्किन खोजे पनि यहाँबाट चासो नदिइएको धारणा आएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई आफ्ना नागरिकप्रति जिम्मेवार रहन निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्