जनता टाइम्स

१९ माघ २०७६, आईतवार १६:४१

नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित, यी शब्द फेरिने


काठमाडौं, माघ १९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । बुधबारदेखि जारी नेकपाको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो ।

अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले करिव डेढ घण्टा लगाएर जवाफ दिएपछि बैठकले उक्त प्रतिवेदन सर्वसम्मतीले पारित गर्ने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताउनु भएको छ ।

राजनीतिक प्रतिवेदनमा उल्लेखित सो शब्दप्रति गोकुल बास्कोटा, विष्णु रिमाललगायतले असहमति जनाउँदै यसले असंलग्न कुटनीतिमा असर गर्ने बताउनु भएको थियो । समूह १ का टोली नेता आनन्द पोखरेललगायत धेरै समूहका नेताले सो शब्द राख्न आवश्यक नरहेको निष्कर्ष सुनाएपछि प्रचण्डले आइतवार जवाफ दिने क्रममा सो शब्द हटाएर दस्तावेज प्रकाशन गरिने बताउनु भयो ।

बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ । यस्तै विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।