काठमाडौं, फागुन ८
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
राजिनामा स्विकृत लगत्तै उहाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोक्नु भएको छ ।
बास्कोटाले सञ्चारसँगै सम्हाल्दै आउनु भएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नु हुने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिः
आज मिति २०७६ साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा। युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हाल्ने गरी तोक्नु भएको छ।
प्रतिक्रिया दिनुहोस्