काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उहाँ मिर्गौला दिन तयार हुनुभएको हो । प्रधानमन्त्रीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले ब्यक्त गर्नुभएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्