जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १२:५३

आफ्नै माटोमा छु नआत्तिनुहोस्, मलाई केही हुदैन – प्रधानमन्त्री


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै माटोमा रहेकाले नआत्तिन सबैलाई अपिल गर्नुभएको छ । अप्रेसन थिएटरमा छिर्नु अघि चिकित्सक टोलीसँग उहाले नआत्तिन आग्रह गर्नुभएको छ ।

‘अप्रेशन थिएटरमा जाने बेलामा उहाँलाई जे भए पनि नआत्तिन आग्रह गर्नुभएको छ’, एक चिकित्सकले भन्नुभयो, ‘जे सुकै भए पनि चिन्ता नलिन भन्‍नु भएको छ।’ प्रधानमन्त्री ओलीले आफ्नै देशको माटोमा उपचार हुने भएकाले आफू ढुक्क रहेको पनि बताउनु भयो । ‘मलाई राम्रो हुन्छ आत्तिनुपर्दैन । नराम्रो भए पनि म आफ्नै देशको माटोमा छु, त्यही पनि राम्रो हुन्छ, कसैले आत्तिनुपर्दैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती चिकित्सकले भने, ‘देशमै उपचार हुने भएकाले मलाई जे भए पनि कसैले चिन्ता नगर्नू, त्यही पनि मलाई ठीक हुन्छ ।’

प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया गरिरहेको शिक्षण अस्पतालमा यसअघि आठ सयजनाको प्रत्यारोपण भइसकेको छ। त्यसम १० जनाको त दुई पटक सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ। प्रधानमन्त्री ओली शिक्षणमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने एघारौँ व्यक्ति हुनुहुन्छ ।

यसैबीच, भारतीय डाक्टर अनन्त कुमारसँगै अर्का भारतीय प्रख्यात डाक्टर दिनेश खुल्लर पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रक्रियामा सहभागी हुनुभएको छ । युरो सर्जन अनन्त कुमारले प्रत्यारोपणको क्रममा निगरानी गरिरहनु भएको छ । नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लरले प्रत्यारोपणपछि निगरानी गर्नुहुनेछ ।