जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १०:०४

प्रधानमन्त्रीलाई सोमबारसम्म डिस्चार्ज गर्न सकिने, छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश आउने


काठमाडौं, फागुन २४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारसम्म अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ । उपचारमा संलग्न डाक्टरले उहाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएकाले आइतवार साँझ वा सोमबारसम्म डिस्चार्ज गर्न सकिने बताएका हुन् ।

स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गर्नुभएका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताउनुभयो । डिस्चार्ज गरेपनि तत्काल भेटघाटमा भने कम गर्नुपर्ने बताउनु भयो । ‘बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको छौं’,उहाँले भन्नुभयो ।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनु भएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उहाँलाई पनि आइतबार वा सोमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।