जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १८:३८

अन्तराष्ट्रिय श्रमिक महिला दिवस : महिलावादीद्धारा विश्वव्यापी हड्ताल आह्वान


काठमाडौं, फागुन २४

संसारभरका महिलावादी एंवम् सहयोगी संघसंस्थाहरुले आइतबार विश्वभरी नै हड्तालको आह्वान गरेको छन् । ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आइतबार नेपाल लगायत विश्वभरीका महिलावादीहरुले ‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ विश्वव्यापी महिला हड्ताल गर्न लागेका हुन् ।

महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने भएकाले हड्ताल आव्हान गरिएको आयोजक सस्थाहरुले बताएका छन् । महिलाको कामको महत्व दर्शाउन र उनीहरुको कामको सम्मान होस् भन्ने उद्धेश्यले नेपाल लगायत विश्वभरी नै महिलाहरु हड्तालमा उत्रिन लागेका हुन् । नेपालमा हड्तालको संयोजन गरिरहेको महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले कोरोना भाइरसको त्रास, यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै र सरकारद्धारा कुनै प्रकारको भीड तथा जमघट नगर्न गरिएको आह्वानको कदर गर्दैे ७७ वटै जिल्लाहरुमा फरक ढाँचाले हड्ताल गर्ने तयारी रहेको जनाएको छ ।

हडतालकै दिन काठमाडौंको कोटेश्वरदेखी माइतिघरसम्म प्रर्दशनको तयारी गरेका छन् । दिउसो १२ देखि १ बजेसम्म माइतीघरदेखि कोटेश्वरसम्म सडकको दुबैतर्फ १६ वटा स्टेशन बनाई प्रत्येक स्टेशनमा १० जनाको समूह उभिई महिला हड्तालको कार्यक्रम तय गरिएको सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रत्येक सहभागीले महिला रोकिए संसार रोकिन्छ लेखिएको टिसर्ट र फेटा लगाई प्ले कार्ड बोकी प्रर्दशन गर्नेछन् । जनस्वास्थ्यका सबाललाई ध्यानमा राख्दै सबै जनाले अनिवार्य रुपमा मास्क लगाई हड्तालमा उत्रिनेछन् । हड्ताललाई संसार भरी धेरै वटा ठाँउमा धेरै वटा संस्थाहरुले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरमले संयोजना गरिरहेको छ ।

यसैबीच, महिला अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको महिला पुनस्र्थापना केन्द्र ओरेकले महिलाहरुले घरभित्र, मनोरञ्जन, खेलकुद लगायतका अन्य क्षेत्रमा गर्दै आईरहेका सेवामुलक कार्यहरुले पहिचान, मूल्याकंन, र पारिश्रमिक नभएको जनाउदै जबसम्म महिलाको कामलाई काम मानिँदैन र श्रमिकको रुपमा उनीहरुको अधिकार सुनिश्चित गरिँदैन, तबसम्म देशको ५१ प्रतिशत उत्पादनशील जनसंख्या देशको विकासमा समान साझेदार हुन नसकिने जनाएको छ ।

संस्थाले श्रमिक महिला दिवसको अवसर पारेर एक विज्ञप्ति जारी गर्दै देश विकास र महिलाको समान साझेदारीका लागि महिलाको श्रमको अवमूल्यन गर्ने तथा श्रमको उचित मूल्यांकनमा अवरोधका रुपमा रहेका संरचनाहरुलाई परिवर्तन गरी महिलाको घरेलु कामलाई कामको रुपमा मान्यता दिन र सुरक्षित वातावरणमा काम गर्न पाउनेअधिकार सुरक्षित हुनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै ७ बुँदे मागहरु अघि सारेको छ ।

यस्ता छन् माग

१. घरेलु श्रम तथा घर आधारीत श्रम लगायत सबै सेवामूलक कामलाई उत्पादनमूलक कामको रूपमा गणना गर्दै, हरेक क्षेत्रमा क्रियाशील श्रमिक महिलाका लागि न्यायोचित ज्याला पाउने व्यवस्थाको व्यावहारिक कार्यान्वयनका निम्ति सघ, प्रदेश एवं, स्थानीयस्तरबाट नीतिगत व्यवस्था गरि कार्यान्वयमा ल्याउनुपर्ने ,

२. संविधानमा व्यवस्था भएको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न, कृषि, ईट्टाभट्टा, गिट्टी कुट्ने, घरेलु श्रमिक, वैदेशिक रोजगारी लगायतका विभिन्न जोखिमपूर्ण अवस्थामा कार्य गरिरहेका सबै महिलाहरुका लागि साथै अनौपचारिक क्षेत्रलाई औपचारिकीकरण गरि सामाजिक सुरक्षाको दायारामा ल्याउने व्यवस्था गर्नुपर्ने ,

३. योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले घरभित्र काम गर्ने, घर आधारीत श्रम, कृषि क्षेत्रमा काम गर्ने एवं स्वरोजगार जस्ता मजदुरहरुको योगदानलाई समेट्न नसकेको हुँदा यसलाई सबै नागरिकको समान अधिकारको अवधारणा सम्मत बनाउन माग गर्नुपर्ने ।

४.मनोरञ्जन लगायत पर्यटन, होटल, यातायात क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको श्रमको पहिचान र सम्मान गर्दै यस क्षेत्रमा कार्यरत श्रमिक महिलाको सवाललाई श्रम ऐन र सामाजिक सुरक्षा ऐनले व्यवस्था गरे बमोजिम कार्यबिधि निर्माण भई कार्यान्वयन गर्न र कार्यस्थललाई सुरक्षित बनाउनुपर्ने ,

५. कार्यस्थललाई उपयुक्त अनुकुलता सहित अपांगतामैत्री वातावरण बनाई अपागंता भएका महिलाहरुको रोजगारीमा समान अवसर तथा पहुँच निर्माण गर्न, अपागंता भएका महिलाहरुको आवश्यकता पहिचान गरि दिगो जीविकोपार्जनका लागि सिप तथा व्यवसायीक तालिमहरु प्रदान गर्नुपर्ने,

६.सवै श्रमिकको सामाजिक सुरक्षा संयन्त्रमा पहुँच स्थापित गर्न अभिलेखबद्ध गर्नुका साथै हरेक स्थानिय तहमा श्रम डेक्स र लैगिंक सम्पर्क व्यक्तिको अनिवार्य व्यवस्था गर्न तथा आवश्यक बजेट सहितको नीति र नियम बनाउनुपर्ने,

७. कार्यस्थलमा हुने यौनजन्य दूव्र्यवहार विरुद्धको आइएलओ महासन्धि १९० र घरेलु श्रम सम्बन्धी आईएलओ महासन्धी (C189) तुरुन्तै अनुमोदन गर्न माग गर्दछौ । साथै नेपालका कानुनी व्यवस्थाहरुलाई अन्तराष्ट्रिय कानुन अनुकुल परिमार्जन गरि कार्यान्वय गर्न र हरेक प्रतिष्ठान भित्र गोप्य उजुरी कक्ष लगायतका आवश्यक व्यवस्था गर्नुपर्ने ।