बेइजिङ, फागुन २७ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ ओटा अस्थायी अस्पताल बन्द गरिएको छ । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पतालहरु सोमवारबाट बन्द गरिएको हो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार डिसेम्बर अन्तिमबाट कोभिड–१९ संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्न र संक्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो । सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी दुई अस्पताल पनि आजसम्ममा बन्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बिरामीलाई उपचार गरिएको थियो ।
कोभिड–१९ को उद्गमस्थल चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बिरामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् । डिसेम्बर अन्तिममा पहिलो संक्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म संक्रमित पुष्टि थियो । चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बिरामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बिरामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी पनि दिइएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिनुभएको छ । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्