जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १०:५०

न्यूयोर्कमा दुई नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि : तीब्र रुपमा फैलदै अमेरिकामा कोरोना


न्यूयोर्क, चैत १० । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको अस्पतालको भनाई उधृत गर्दै स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ। उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्य रोगको समस्या भने नरहेको बताइएको छ । यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो। परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ। परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन्।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४५२ पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३४०८७ पुगेको छ ।

संक्रमितको अवस्था हेर्दा अमेरिकाको न्यूयोर्क राज्यमा सबैभन्दा धेरै संक्रमति छन्। यस राज्यमा १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्, भने ११७ को मृत्यु भइसकेको छ। यसैगरी वासिङटन, न्यूजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितहरुको संख्या १५ सयभन्दा बढी छ। अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भइसकेको छ भने आइतबार मात्रै ज्यान गुमाउनेहरुको संख्या करिब १०० पुगेको छ।

चौतर्फी संत्रास फैलाएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म तीन लाख ३८ हजार भन्दा बढी संक्रमित छन्, भने १४ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ। हालसम्म विश्वभर करिब ९९ हजारभन्दा बढीको सफल उपचार भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ।