जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार ००:००

कोरोना भाइरस अपडेट : बिश्वभर २० हजार ५ सयको मृत्यु, इटालीपछि स्पेनमा लियो धेरैको ज्यान (सूचीसहित)


काठमाडौं, चैत १३ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म २० हजार ५ सय ४३ जनाको मृत्यु भएको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार यो समाचार तयार पार्दासम्म २० हजार ५ सय ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख ५४ हजार ४ सय ५६  भन्दा बढी पुगेको छ। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। पछिल्लो तथ्याङ्कअनुसार त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख ५२ हजार ६ सय १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २० हजार ५ सय जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख १३ हजार १ सय २१ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

विश्वका यी दश देश जहाँ कोरोनाभाइरसको असर बढी 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने देशको सुचीमा इटाली पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा स्पेन र तेस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा २ हजार ७७ जना, फ्रान्समा १ हजार १ सय जना, अमेरिकामा ८ सय ४१ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा ३ सय ५६ जना, जर्मनीमा १ सय ८६ जना र बेल्जियममा १ सय ७८ जनाको मृत्यु भएको ।