जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार ०६:३६

कोभिड– १९ बाट २४ घण्टामै विश्वभर ३ हजार ७ सय १५ जनाको मृत्यु, स्पेनमा ९ सय १३ जनाको मृत्यु


 

काठमाडौं,  चैत १८ ।  विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ को मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले स्पेनमा ६३ हजार ४ सय ६० जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभरबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय भन्दा बढीको पुगेको छ ।

नेपाली समयअनुसार आज मंगलवार विहान साढे ६ बजेसम्म थप ३ हजार ७ सय १५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८४ पुगेको हो । यस्तै ७ लाख ८४ हजार ४ सय भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ६५ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।