जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार १०:४२

निजी अस्पतालको स्वास्थ्य सामाग्री काठमाडौंमा


काठमाडौं, चैत २१

निजी अस्पतालहरूले मगाएको स्वास्थ्य सामाग्री शुक्रबार विहान चीनबाट काठमाडौं आइपुगेको छ । ग्वाङ्जाओबाट पिपिई लगायतका सामाग्री बोकेको नेपाल एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

जहाजमा मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर र भेन्टिलेटरहरू लगायतका सामानहरू आएको बताइएको छ । सिजी फाउण्डेसन, व्यावसायीक घराना शंकर ग्रुप, नर्भिकसहित केही निजी अस्पताललगायत ५० वटा समुहको सामान ल्याइएको बताइएको छ । पछिल्लो समय चीनबाट आएका केही समान गुणस्तरका नभएको भन्दै केही देशले आवाज उठाईरहेका बेला आएका सामान गुणस्तरका हुन् वा होइन् भन्नेमा अन्यौल छ ।

केही समय अघि स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रले दिएको पिपिई फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मीलाई नलगाउन आग्रह गरेको थियो । सरकारले राजधानीका ९ वटा निजी अस्पतालहरूलाई कोरोनाको उपचार गर्न हब अस्पताल तोकेको छ ।

यसअघि निजी अस्पतालहरूले पिपिई लगायत स्वास्थ्य सामग्री अभाव रहेको भन्दै कोरोना शंकास्पद विरामीको उपचार गर्न नसक्ने बताउँदै आएका थिए । तर सरकारले कोरोनाको विरामी भर्ना नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएपछि निजी अस्पतालहरू विरामीको उपचार गर्न सहमत भएका हुन् ।