काठमाडौं, चैत २२
प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्दै त्यहा रहेका नेपालीका विषयमा चासो व्यक्त गर्नुभएको छ । ९ जना नेपालीमा एकैपटक कोरोना देखिएपछि शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा विन सलमान अल खलिफासँग टेलिफोनमा कुराकानी गर्नुभएको हो ।
टेलिफोनमा कोरोना भाइरस फैलिइरहेका बेला बहराइनमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका बारे कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्वीटरबाट जानकारी दिनु भएको छ । ‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संवाद गरे’,उहाले अगाडी लेख्नु भएको छ, ‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।’ प्रधानमन्त्री ओलीले अन्य मुलुकका सरकार प्रमुखहरूसँग पनि नेपाली कामदारको अवस्थाबारे कुराकानी गर्ने बताउनु भएको छ ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका ९ कामदारमा कोरोना पोजिटिभ देखिएको हो । यसअघि ३ जना नेपालीमा देखिएको थियो । बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ । ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन् । ४ जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्