जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १६:२२

डाक्टर पुन प्रकरणमा मिडियाले लुकाएको त्यो तथ्य


पुन जस्तो अब्बल चिकित्सक १८ बर्षदेखि कसरी करारमै रहन बाध्य भए ? के कारण थियो पुनलाई यसरी करारमै बस्नुपर्ने बाध्यता ? त्यो तथ्य जान्न खोज्ने पाठकलाई पत्रिकाले पुरै ढाँटेको छ । सही सूचनातिर जानै चाहेको छैन ।

समाचार टिप्पणी

आजका सवैजसो दैनिक पत्रिकामा डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधेको पत्रको बिषयमा मुख्य समाचार बनेका छन । डाक्टर पुन प्रकरणमा नयाँपत्रिका दैनिक निकै कडा रुपमा प्रस्तुत भएको छ । ब्यानर न्यूज बनाएर पुनको अन्तर्वार्तासमेत पहिलो पृष्ठमै छापेको छ । नयाँ पत्रिकाले हेडलाइन दिएको छ, ‘भाइरोलोजीमा पिएचडी गरेका डाक्टर १८ वर्षदेखि करारमा, पिपिई सेट लगाएको वेला फोन उठाउन नसक्दा डा. शेरबहादुर पुन कारबाहीमा ।’

यसैगरी सो पत्रिकाले लिडमा लेखेको छ, ‘डा. शेरबहादुर पुन, जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन । हो, उनी १८ वर्षदेखि करारमा छन । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।’

समाचारको लिडमा स्वयं डाक्टर पुनलाई समेत लज्जाबोध हुनेगरी यति धेरै तेल मालिस गरिए पनि पत्रिकाले यसलाई पुष्टि गर्ने कुुनै आधार दिएको छैन । किन १८ बर्षसम्म करारमा रहन बाध्य भए डाक्टर पुन ? यस बिषयमा समाचारमा कँही कतै उल्लेख छैन । अर्थात हेडलाइन, लिड र समाचारबीच बिल्कुलै तालमेल छैन । छ त केवल चाँकडी,चाप्लुसी अनि कुण्ठा । यो समाचार आफैमा गम्भीर दुविधामा देखिन्छ । पुन जस्तो अब्बल चिकित्सक १८ बर्षदेखि कसरी करारमै रहन बाध्य भए ? के कारण थियो पुनलाई यसरी करारमै बस्नुपर्ने बाध्यता ? त्यो तथ्य जान्न खोज्ने पाठकलाई पत्रिकाले पुरै ढाँटेको छ । सही सूचनातिर जानै चाहेको छैन ।

नयाँपत्रिकालाई सरकारबिरुद्ध ठोक्नु छ, कसैमाथि अन्याय परेको वा न्याय दिलाउने कुरा छैन । त्यसैले सरकारमाथि ठोक्यो । अनि १८ बर्षदेखि यति सक्षम चिकित्सक करारमा राख्ने स्वास्थ्य मन्त्रालयका नेतृत्वकर्तामाथि प्रश्न उठाउने चेष्टा नै गरेन ।  ब्यानर न्यूज बनाउने पत्रिकाले चाहेको भए २०५९ सालयताका सरकार र स्वास्थ्यमन्त्रीले के कारणले स्थायी गर्न चाहेन वा डाक्टर पुन आफै परीक्षा दिन अनिच्छिुक भए कि परीक्षामा अनुतिर्ण भए भन्ने फेहरिस्त ल्याउन सक्थ्यो ।

तर यी सवै तथ्यलाई लुकाएर कोरोनाबिरुद्धको लडाईमा होमिएका स्वास्थ्यमन्त्री र मन्त्रालयका पदाधिकारीमाथि दोष थोपर्ने काम गरिएको छ । १८ बर्षसम्म एउटा चिकित्सकले किन करारमै रहने बाध्यता आइलाग्यो ? नयाँ पत्रिकाको यो समाचारले डाक्टर पुनमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । कतै आफै असक्षम भएर त डा. पुन करारमा बसिरहेको होइन भन्ने प्रश्न उठिसकेको छ । यसलाई चिर्न पनि अव पुनले १८ बर्षसम्म अपराध गर्नेहरुको पोल खोल्नुपर्छ ।