जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १३:४१

कुहिएको दाल बेचेको आरोप लागेका कांग्रेसबाट निर्वाचित मेयर राय पक्राउ


बारा, बैशाख ९

लकडाउनका बेला कलैया उपमहानगरपालिकामा कुहिएको दाल बिक्रि गरेको आरोप लागेका मेयर राजेश राय पक्राउ परेका छन् । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई मंगलबार पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन् । यसअघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो । त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो ।

त्‍यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् ।