जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ०७:२५

कोरोनाले २४ घण्टामा ६ हजारको मृत्यु, कुन देश कति प्रभावित ?


काठमाडौं, वैशाख १४ । विश्वभरका २१३ देशमा फैलिएका कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ५५ को ज्यान गएको छ । कोरोनाले विश्वभर २ लाख ३ हजार १३९ को ज्यान जाँदा अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ९० हजार १०८ नयाँ संक्रमित थपिएका छन् । यसमध्ये अमेरिकामा मात्रै ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । हाल विश्वभर १८ लाख ७९ हजार ३०९ कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५८ हजार १७८ को अवस्था गम्भीर रहेको छ । अमेरिकामा उपचाररत १५ हजार ११० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोनाको कारण २२ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै अमेरिका, इटली, स्पेन र फ्रान्सपछि बेलायत यस्तो पाँच देश बनेको छ, जहाँ २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २९ लाख २० हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये आठ लाख ३६ हजार ६ सय ८३ जना निको भएका छन् । १८ लाख ८० हजार ९ सय ५३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार आठ सय ६४ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । सङ्क्रमणबाट अहिलेसम्म दुई लाख तीन हजार दुई सय ६९ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै इटलीमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी भारतमा २६ हजारभन्दा धेरैमा सङक्रमण पुष्टि भएकोमा आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।