जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १२:०९

लकडाउन कडा पार्ने प्रधानमन्त्री ओलीको घोषणा, मन्त्रिपरिषद्को बैठक आव्हान


काठमाडौं, जेठ १

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन कडा पार्ने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोकमा सुत्केरी महिलाको मृत्यु भएपछि उहाले मानविय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने घोषणा गर्नुभएको हो ।

सरकारले पछिल्लो पटक जारी गरेको लकडाउन भोलीबाट सकिदैछ । त्यसबारेमा थप छलफल गर्न अपरान्ह ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका विषयमा थप निर्णय गर्नेछ । मोडालिटी फेर्ने विषयमा यसअघि छलफल भएपनि यहीबीचमा कोरोनाका कारण नेपालमा पहिलो मृत्यु भएपछि सरकारले थप सशक्त बनाएर लैजाने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडी जारी लकडाउनबारे निर्णय गर्न कोभिड–१९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । दिउसो साढे २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सोमबार सकिदैछ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो ।

तर, संक्रमण रोकिनुको साटो बढ्दै जान थालेपछि अघिल्लो आइतबारदेखि खुकुलो हुनथालेको लकडाउनलाई सरकारले कडा पारिसकेको छ । खुल्न थालेका सरकारी कार्यालयहरु फेरि बन्द गरिएका छन् । प्रशासनले जारी गरेका सवारी पासहरु खारेज गरिएको छ ।