काठमाडौं, जेठ ५ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेको छ। अपहरण गरेको प्रमाण नै फेला नपरेपछि थप प्रमाण ल्याएपछि जगाउने गरी अहिलेलाई सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको काठमाडौंका प्रमुख सरकारी वकिल हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीले अहिलेसम्म ल्याएका प्रमाण हेर्दा अनुसन्धान अघि बढाउनु पर्ने देखिएन, पछि थप प्रमाण ल्याए अनुसन्धान जगाउने गरी तामेलीमा पठाउने निर्णय गरेका छौं, रेग्मीले भन्नुभयो । प्रहरीले अनुसन्धानपछि प्राप्त तथ्यको आधारमा सांसद यादवको अपहरण भएको प्रमाण फेला नपरेको जनाउँदै आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले प्रमाण नपुगेकोले मुद्दा तामेलीमा राख्न राय दिएको थियोे ।
प्रहरीले आफूले भेट्टाएका प्रमाण हेर्दा मुद्दा अघि बढाउन पर्ने देखिएन, तामेलीमा राखिपाउँ भन्ने रायसहितको प्रतिवेदन दिएको थियो। हामीले प्रमाण विश्लेषण गर्दा पनि अपहरणको मुद्दा अघि बढाउनु पर्ने देखेनौं, रेग्मीले भन्नुभयो । प्रहरीले ल्याएको प्रतिवेदनमा सांसद यादवको घर, बसेको होटलको घटनास्थल प्रकृति मुचुल्का, यादवले मिडियालाई दिएको अन्तर्वार्ता र बसेका होटलको सिसिटिभी फुटेज सामेल गरेको थियो।
प्रमुख सरकारी वकिल रेग्मीका अनुसार यादवसँगै गएका समाजवादीकै नेता उमाशंकर अर्गैया, यादवका भिनाजु र बडीगार्डहरूको बयान पनि सामेल थियो। उहाँहरूले यादबको अपहरण होइन, राजनीतिक विषय हो भनेर बयान दिनुभएको छ । यादव आफैले पनि प्रहरीमा कागज गर्दा ‘मलाई आउन मन थिएन, घरमै बस्न मन थियो, उहाँहरूले कर गरेर इच्छाविपरित आउनुपर्यो’ भन्नुभएको छ । यी सबैका आधारमा यो अनुसन्धानलाई तामेलीमा राख्ने निर्णय भएको काठमाडौंका प्रमुख सरकारी वकिल रेग्मीले बताउनु भयो ।
वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिनुभएको थियो । सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनालले वैशाख १० गते सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाइएको थियो । पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको बताउनु भएको थियो । अनुसन्धानको क्रममा प्राप्त तथ्यले सोही भनाईको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्