काठमाडौं, जेठ ११ । चीनको सियान सहरबाट अब सातामा एक पटक काठमाडौंका लागि सामान बोकेर कार्गो रेल आउने भएको छ। पल्लो सान्सी राज्यको राजधानी सियानबाट चाइना रेल्वे एक्प्रेस सियान-काठमाडौं रूटको पहिलो रेल दुई दिनअघि छुटिसकेको छ।
चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार नेपालका विभिन्न संस्था र व्यापारीले मगाएका सामानहरू बोकेर कार्गो रेल सियानबाट सिगात्सेतर्फ गुडेको हो। सिगात्सेमा रेलबाट ल्याइएको सामान झारेर ट्रकबाट काठमाडौं ल्याइनेछ। सियानबाट हिँडेको सामान काठमाडौं पुग्न आठ दिन लाग्ने बताइएको छ। ‘सियानबाट नेपालका लागि सामान बोकेर पहिलो पल्ट रेल गएको छ,’ लम्सालले टेलिफोनमा भन्नुभयो, ‘यो रूट व्यापारीहरूले नै सुरू गरेका हुन्। तत्काललाई सातामा एक पटक सियानबाट रेल सिगात्से पठाउने उनीहरूको तयारी छ।’
सियान सिल्क रोडको एउटा महत्वपूर्ण बिन्दु हो। अहिले त्यहाबाट मध्य एसिया र पूर्वी युरोपलगायत पाँच रूटमा कार्गो रेलहरू गइरहेका छन्। सियानबाट नेपाली बोर्डरसम्म सामान ल्याउन प्रतिकन्टेनर १६ हजार चिनियाँ युआन भाडा लाग्ने ब्यवसायीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्