जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १२:०२

कमलादीमा पक्राउ परेका व्यापारी उच्च घरानाका, गिनीका अवैतनिक दूत समेत रहेको खुल्यो


काठमाडौं, जेठ २०

प्रहरीले सोमबार राति कमलादीबाट आठ जना उच्च घरानाका व्यापारीलाई पक्राउ गर्यो । एक जना भारतीय नागरिकले संचालन गरेको बुटिक होटलबाट जुवा खेलिरहेका आठ व्यापारी र होटल संचालकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परिचय खोल्दै त्यसमा अवैतनिक दूत समेत रहेको खुलेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले रिजेन्सी बुटिक होटल बाई गंगोरबाट व्यापारीहरु नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतानलाई पक्राउ गरेको हो । वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

प्रहरीले कोलकाताका होटल संचालक निक्की जोगाईलाई समेत पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले व्यावसायिकरुपमा जुवा खेलाउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा आठ जुवाडे र एक जना होटल संचालक पक्राउ परेको बताउनुभयो । उहाले पक्राउ परेकाहरुका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

को हुन् त पक्राउ पर्नेहरु ?

पक्राउ पर्नेहरु नेपालका उच्च व्यापारिक घरानाका सदस्य हुन् । जसमध्ये अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन् । उनी विशाल ग्रुपका संचालक समेत हुन् । यस्तै रामचन्द्र संघाई त्रिवेणी ग्रुपका संचालक र एनआईसी एशिया बैंकका निर्देशक हुन् ।

प्रहरी वृत्त दरबारमार्गका अनुसार होटलको एउटा विशेष कोठामा क्यासिनोमा प्रयोग हुने विभिन्न दरका चिप्सको प्रयोग गरेर जुवा खेलिरहेका थिए । रु.५० देखि १ हजारसम्मका १७९ चिप्स र रु.२ लाख ७७ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । तर, सो चिप्सको दाम बढि हुनसक्ने र एक चिप्सको दाम एक लाखसम्म हुन सक्ने प्रहरीको अनुमान छ । क्यासिनोमा नगदको सट्टामा चिप्सको प्रयोग हुने गर्दछ ।