जुम्ला, जेठ २४
होम क्वारेन्टाइनमा रहेका एक पुरुषको कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु भएको पुष्टि भएको छ । ४ दिनअघि आफ्नै घरमा मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुषलाई घरमै राखिएको थियो । लामो समयदेखि दमका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए । १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो । उनको घर निक्कै दुर्गम क्षेत्रमा रहेकाले स्थानीय स्वास्थ्यकर्मीलाई नै कन्ट्रा्याक ट्रेसिङको काम दिएको प्रतिष्ठानले जनाएको छ ।
उनको रिपोर्ट पोजिटिभ आएपछि ३ नम्बर वडा र गाउँपालिकालाई सिल गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले बताउनुभयो । मृतक पुरुषको दाहसंस्कारमा गाउँले, वडावासी र अरु छिमेकी वडावासीसमेत सहभागी भएको भए पनि सुरक्षा सतर्कता अपनाएर दाहसंस्कार गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्