जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १५:५६

राजविराजमा पनि शुरु भयो कोरोना परीक्षण, अन्यत्र लैजानुपर्ने बाध्यता हट्यो


राजविराज, जेठ २५

सप्तरीको राजविराजमा पनि आइतबारदेखि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । एकसाता अगाडी नै मेसिन जडान गरेपनि विभिन्न परीक्षण सफल भएपछि आजबाट सञ्चालनमा ल्याइएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजले कोरोना परीक्षण शुरु गरेपछि त्यहा संकलन गरेका स्वाब विराटनगर र धरान लैजानुपर्ने बाध्यता हटेको छ । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको प्राविधिक टोलीद्वारा गरिएको परीक्षण सफल भएसँगै नमूना परीक्षणको काम थालेका छौं’, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भन्नुभयो, ‘अब परीक्षणका लागि स्वाबको नमूना धरान, विराटनगर वा काठमाडौं पठाउनुपर्ने बाध्यता रहेन ।’

अस्पतालमा रहेको प्रयोगशालामा एक साताअघि नै मेसिन जडान भएपनि परीक्षण सफल नभएकाले कोरोनाको परीक्षण सुरु गरिएको थिएन । प्रदेश २ सरकारले राजविराज, जनकपुर र बिरगञ्जमा पिसिआर मेसिनबाट स्वाब परीक्षण गर्ने भनी दुई महिनाअगाडि निर्णय गरेको थियो । जनकपुर र वीरगञ्जमा यसअघिदेखि नै पीसीआर मेसिनबाट परीक्षण हुँदै आएको छ ।