काठमाडौं, जेठ २७ । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनकाे बन्दसत्रका कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो ।
महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार आज बिहान ८ बजे बन्दसत्रको बैठक सुरु गरेर निर्वाचन प्रक्रिया अघि बढाइने छ ।
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ । यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्