जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १९:०६

रौतहट नरसंहार : समातिए पूर्वमन्त्री आलमका सहयोगी


रौतहट, जेठ २५ । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको घटनाका फरार एक अभियुक्त पक्राउ परेका छन्‍। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ४ निवासी ५५ वर्षीय मुक्ति साह छन् । शनिबार राति सीमा क्षेत्रबाट पक्राउ गरी ल्याइएका साहलाई प्रदेश प्रहरीले आज जिल्ला अदालत गौरमा पेस गरेको छ ।

घटनाको १३ वर्षपछि उनी पक्राउ परेका हुन् । सो घटनामा संलग्न रहेका अन्य ९ जना फरार छन् । पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् ।

त्यतिबेला इँटाभट्टामा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले नेपाल भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका ८ बाट शनिवार राति पक्राउ गरेर ल्याएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने यकिन खुल्न सकेको छैन ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साबिक राजपुर गाविस ४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । सो घटनामा यमुनामाई गाउँपालिका ४ (साबिक सरुअठा ४) का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तर घाइते भएका थिए । उनीहरुलाई इँटाभट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आलमलगायत ११ जनामाथि आरोप छ । राजनीतिक आवरणमा लुकाइएको यो घटनाको १२ वर्षपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

विस्फोटको घटनापछि मृतक पिन्टुका बुवा श्रीनारायाण सिंह र अख्तरका आमा रुक्साना खातुनले आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । घटनाको २ महिनापछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाइ महताब आलमसहित ४ जना पक्राउ परेका थिए । त्यसबेला कांग्रेसको सरकार थियो । प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले जमानीमा छाडेका थिए ।

आरोपीहरु छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरी पाऊँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिइएको थियो । घटनामा न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट दायर गरेपछि घटनाको पुनः छानबिन गर्न आदेश भएको थियो । अदालतको आदेशपछि अनुसन्धान अघि बढेपछि आलम पक्राउ परेका हुन ।