जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार ०८:१८

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको धारीलो हतियार प्रयोग गरि हत्या


काठमाडौं, जेठ २७

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताउनु भएको छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताउनुभयो । घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ । त्यसपछि सुर्खेतका झपेन्द्र सिजालीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।