जनता टाइम्स

२ असार २०७७, मंगलवार १९:५२

सम्पत्ति सुद्धिकरण बिभागले फेला पार्यो एकै ब्यक्तिले २ अर्ब ६६ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य


काठमाडौं, असार २ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले श्रेष्ठसहित ५ जना विरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो ।

विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्धसमेत सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाएको छ । योगेन्द्र श्रेष्ठ कम्पनी स्थापनाकालदेखि २०६८ सालसम्म शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठबिरुद्ध नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दासमेत चलाइएको थियो ।

जसमा नागरिक लगानी कोषमा १६ करोड ५० लाख, माछापुच्छ्रे बैंकको ४ करोड ८८ लाख, जनता बैंकको १० करोड, हिमाल हाईड्रोको ९० लाख, नेपाली सेना कल्याणकारी कोषको ४ करोड, सन्ड्री डेप्स टर्सको ९ करोड ६९ लाख, बीमा संस्थानको २० करोड अनि विभिन्न व्यक्तिको बचत १७ करोड गरी कुल ८३ करोड ३ लाख रुपैयाँ अनियमित रुपमा दुरुपयोग गरेको आरोप थियो । उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा नराखी दुरुपयोग गरेको आरोप थियो । उहाँबिरुद्ध नक्कली ऋणी बनाई ३२ करोड ६४ लाख दुरुपयोग गरेको अभियोगसमेत लागेको थियो ।

अर्को पटकको अभियोगमा श्रेष्ठविरुद्ध ३४ करोड ९३ लाख दुरुपयोग गरेको मुद्दा चलेको थियो । तत्कालीन पुनरावेदन अदालतको वाणिज्य इजलासले दुई पटकको फैसलामा करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै योगेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थमान मास्केलाई ३ वर्ष कैद फैसला सुनाएको थियो । त्यही घटनाका कसुरदार श्रेष्ठमाथि छानबिन हुँदा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यति धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य फेला पारेको हो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत आएपछि गैरकानूनी सम्पत्ति आर्जन गर्नेहरुमाथिको अनुसन्धानलाई निकै बनाएको छ । यही क्रममा श्रेष्ठबिरुद्धको अनुसन्धान पूरा गरी मुद्दा दायर भएको हो ।