जनता टाइम्स

१४ असार २०७७, आईतवार १५:२६

पर्यटनमन्त्री योगेश भट्टराईको घोषणा : पूर्वसूचना दिएँ, राम्रो काम नगर्ने कर्मचारीलाई अव हटाइन्छ


काठमाडौं, असार १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाउने घोषणा गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुबाटै काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने भन्दै काम नगर्ने कर्मचारी हटाउने घोषणा गर्नुभएको हो । ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउनबाट हामी काममा प्रोएक्टिभ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ,’ पर्यटन मन्त्रालयले बैठकमा मन्त्री भट्टराईको भनाई उधृत गर्दै बिज्ञप्तीमार्फत भनेको छ, ‘त्यस बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नुहोला ।’

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उहाँले अव काम नगर्नेलाई सहन नसक्ने प्रष्ट पार्नुभयो । ‘तपाईंहरूले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए÷नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ,’ भट्टराईको भनाई थियो । उहाँले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकल कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकायप्रमुखलाई निर्देशन समेत दिनुभएको छ ।