जनता टाइम्स

२२ असार २०७७, सोमबार १९:४३

पत्ता लाग्यो काठमाडौं उपत्यकामा भेटिएका ५४ करोना संक्रमितको ठेगाना, १० ठाउँबाट नमूना स्वाब संकलन


काठमाडौं, असार २२ । लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएसँगै यस्तो तथ्य बाहिर आएको हो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना रहेका छन । काठमाडौंका संक्रमितहरु कपन, महाराजगञ्ज र चाबहिल निवासी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै, भक्तपुरमा फेला परेका संक्रमित चाँगुनारायण र भक्तपुर नगरपालिका निवासी रहेका छन भने ललितपुरमा फेला परेका संक्रमितहरु महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा रहेको पाइएको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाको समुदायमै संक्रमण फैलिए/नफैलिएको भन्ने सम्वन्धमा स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ । यी १० ठाउँमध्ये पहिलो चरणमा तीनकुने र नख्खुडोलका २ सय २८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ । अन्य विभिन्न ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको उहाँको भनाई छ ।

केही दिनयता लगातार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरूले समेत संक्रमण समुदायमा फैलिएको हुनसक्ने भन्दै सजग गराएका छन । स्वास्थ्य मन्त्रालयले पनि उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउने निर्णयसहित अघि बढेको छ । काठमाडौंमा फेलापरेका संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन् भने १२ जना भन्दा बढी ट्राभल हिस्ट्री नभएका व्यक्तिसमेत रहेका छन ।

यसरी कतै नगएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि उपत्यकामा लोकल ट्रान्समिसन फैलिँदै गएको र थप जोखिम बढ्दै गएको मन्त्रालयको निश्कर्ष छ । यहीँ जोखिमलाई लिएर मन्त्रालयले अस्पतालहरूमा परीक्षण बढाउने तयारी गरेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार क्यान्सर, मधुमेहका विरामी र अस्पतालको आकस्मिक कक्ष तथा आइसियूमा भर्ना भएका बिरामीको पनि परीक्षण गर्ने निर्णय भएको छ ।