काठमाडौँ, असार २३
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पवित्र पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताउनु भएको छ । उहाले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यतामा विकास गरिने बताउनु भएको हो ।
नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताउनु भयो ।
उहाले पशुपति क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको बताउनु भयो । पशुपती क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने स्पष्ट पार्नुभयो ।
पाशुपत क्षेत्रमा प्रवेश गर्न पशुपति क्षेत्र विकास कोषले कलात्मक द्वार निर्माण गरेको छ । मन्त्री भट्टराईले मंगलबार बिहान उक्त प्रवेशद्वारको उद्घाटन पनि गर्नुभयो । द्वारको दायाँबायाँ सिंहको आकृति छ । कोषले एसबीआई बैंकको लगानीमा सुमार्गी भवनछेउमा निर्माण गरेको उक्त द्वार यस्तो कलाकृतिमा पहिलो हो । बैंकले पशुपति क्षेत्रको दक्षिण तर्फको प्रवेश द्वार, जुत्ता राख्ने घर, एटिएम घर लगायतका संरचना निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्