राजविराज, असार २६ । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । लगातारको बर्षासँगै आज बिहानबाट सप्तकोशीमा पानीको बहाव उच्च भएको हो ।
पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन समेत स्थानीय प्रशासनले सुचित गरेको छ ।
सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । पाँच वर्षअघि भारतीय कोशी योजनाले कोशीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोशीको पश्चिमी तटबन्धमाथि पनि दबाब बढदै गएको हो ।
कोशीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको छ । यसैगरी कोशीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्