जनता टाइम्स

२७ असार २०७७, शनिबार १५:१६

३३ किलो सुनकाण्डका अर्का आरोपी युएईमा पक्राउ, यसरी ल्याइयो नेपाल


काठमाडौं, असार २७

चर्चित ३३ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेका हरिशरण खड्कालाई संयुक्त अरब इीमरेट्स (युएई)बाट काठमाडौं ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका खड्कालाई शनिबार काठमाडौं ल्याइएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डका प्रमुख एसएसपी रामकृपाल शाहले जानकारी दिनुभयो ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । तर, कानुनी प्रक्रिया पुरा गरेर नेपाल ल्याउन समय लागेको हो । खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै गौशाला वृत्तमा लगिएको छ । ३३ किलो सुन प्रकरणमा संलग्न खड्कासहित १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएर यूएईमा एक दशकदेखि बस्दै आएका खड्का ३३ किलो सुन प्रकरण मुछिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०७३ पुस २१ गते ३३ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा नेपालका सुन व्यवसायी र सुन तस्करको गिरोह नै संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।

को हुन हरिशरण ?

२१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो । सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो । तिनै मध्येका एक हुन्, हरिशरण खड्का ।

दुबईबाट अवैध रुपमा नेपाल सुन पठाउने मध्ये ५ जना नेपाली सक्रिय रहेको र त्यसमध्ये एक जना हरिशरण नै रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोको अनुसार काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का पछिल्ला केही वर्षयता दुबईमा बसेर कारोबार गरिरहेका थिए ।  ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये हरिशरण पनि एक रहेको ब्युरोको निष्कर्ष छ ।

सामान्य किसान परिवारका खड्काको पछिल्लो समयमा उक्लिदो आर्थिक ग्राफ उनका छिमेकी र नातेदार समेत जिब्रो काट्छन् । ब्युरोले गरेको अनुसन्धानले खड्काको एभरेष्ट बैंकको खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात देखाएका छ ।

दुबईमा बसेर सुन तस्करीमा संग्लन रहेको खड्काले चलाल गणेस्थानका कैयन युवालाई कामका निम्ती दुबई पठाएका देखिन्छन् । खड्काका छिमेकीका अनुसार नेपाल आउने तयारीमा रहेको खड्का सुन बरामदीको घटनापछि पक्राउ परिने डरले नेपाल आएनन् । यही बिचमा आमाको मृत्यु भएपनि खड्का नेपाल नआई दुबई नै बसे ।