सप्तरी, असार २८ । पहाडी क्षेत्रमा भइरहेको लगातारको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छाएको छ ।
बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको बताउनुभयो । ‘हामीले पटक–पटक भन्दै आएका छौं कि कोसीमा बालुवाको तटबन्ध निर्माण गरेर बचाउ गर्न सकिँदैन, कोसी योजनाले तटबन्ध निर्माणमा लापरबाही गर्दा जोखिम बढ्यो । कोसीकै बालुवा खनेर पश्चिम तटबन्ध बनायो, अहिले त्यही कारणले डलुवाको १३ ठाउँमा सिपेज भएर कोसी फुट्ने खतरा बढेको हो,’ यादवले भन्नुभयो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उहाँको भनाई छ । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो ।
अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको हो । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ ।
यसअघि पछिल्लो सात वर्षदेखिको प्रयासमा गत वर्ष भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन भई पश्चिमी तटबन्धमा दबाब बढेको हो । बाढीको दबाबले शनिबार डलुवा क्षेत्रमा बाँधबाट सिपेज (रसाएको) भएको पानीले तीन वटा स्थानीय तहका ३ सय ६२ वटा घर जलमग्न भएका छन् । कोसीकै बाढीले तटीय क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका २ सय ५० र तिलाठी कोइलाडी गाउँपालिकाका १ सय १२ घर जलमग्न भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्