सिन्धुपाल्चोक, साउन १ । भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । पहिरोले बगाएको घरछेउमै शव भेटिएको हो ।
राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । एक जनाको शव भेटिए पनि कसको हो भन्ने पहिचान भइनसकेको गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बेपत्ता हुनेमा स्थानीय ग्याल्जेन शेर्पाको परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा रहेका छन् । ग्याल्जेन भने राजधानीमा सवारी चलाउने पेसामा रहेकाले घटनाका बेला घरमा नरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार राति पहिरो खसेको आवाजसँगै वरिपरिको बस्ती थर्किएको थियो । पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाउनुका साथै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्याएको छ । बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्