काठमाडौं, साउन ६
८ वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेबापत सरकारबाट रकम भुक्तानि पाएका छन् । असार मसान्तसम्म स्वास्थ्य मन्त्रालयमा बुझाइएको तथ्यांकमा ८ निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गरेको उल्लेख छ । जसवापत उनीहरुले २३ लाख ३ हजार बुझेका छन् । जसमा सबैभन्दा बढी काठमाडौं मेडिकल कलेजमा २८ जना कोरोना संक्रमितको उपचार भएको छ ।
अस्पतालले २८ जनाको १४ दिन राखेर उपचार गरेबापत दैनिक ३ हजार ५ सयका रुपैयाँका दरले १३ लाख ७२ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट जोखिम भत्ताका रुपमा बुझेको छ । त्यसैगरी, चिरायु अस्पतालले २७ जना कोरोना संक्रमितलाई तीन दिन राखेर उपचार गरेको छ । जसवापत उसले २ लाख ८३ हजार ५ सय रुपैयाँ जोखिम भत्ता लिएको छ ।
इमाडोलमा रहेको किष्ट मेडिकल कलेजले ७ जना कोरोना संक्रमितलाई ५ दिन राखेर उपचार गरेको छ । जसवापत उसले १ लाख २२ हजार ५ सय रुपैयाँ जोखिम भत्ता लिएको छ । अत्तरखेलस्थित नेपाल मेडिकल कलेज प्राइभेट अस्पतालले १० जनालाई ५ दिन राखेर उपचार गरेवापत १ लाख ७५ हजार रुपैयाँ जोखिम भत्ता मन्त्रालयबाट बुझेको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले २ जना कोरोना संक्रमितलाई ५ दिन उपचार गरेको ३५ हजार रुपैयाँ जोखिम भत्ता लिएको छ ।
त्यस्तै, जावलाखेलस्थित अल्का अस्पतालले पनि २ जनालाई ५ दिन राखेर ३५ हजार नै बुझेको छ । ग्वार्कोस्थित वीएण्डबी अस्पतालले ६ जना कोरोना संक्रमितलाई ५ दिन अस्पतालमा राखेर उपचार गरेको १ लाख ५ हजार बुझेको छ । भैसैपाटीस्थित मेडिसिटी अस्पतालले १० जनालाई संक्रमितलाई ५ दिन राखेर उपचार गरेको छ । उसले त्यसवापत १ लाख ७५ हजार रुपैयाँ बुझेको छ ।
प्रतिक्रिया दिनुहोस्