जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १२:१४

प्रधानन्यायाधिशको ‘चित्त’मा लागेका पत्नी हत्याका दोषी पूर्व डिआइजी कोइराला जेलमुक्त


काठमाडौं, साउन ८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको ‘चित्त’मा लागेका हत्याका दोषी पूर्व डीआइजी रन्जन कोइराला जेल मुक्त भएका छन् । आफ्नै पत्नीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका उनि ८ वर्ष ६ महिना जेल सजाय काटेर जेल मुक्त भएका हुन् ।

डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार बिहान ११ बजेर ५० मिनेटमा कारागारबाट निजी कारमा बाहिरिएका हुन् । केही दिनअघि प्रधानन्यायाधीश जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको काममा ‘आवेश’ देखिएको र घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको थियो । फैसलामा भनिएको छ, ‘आमाको मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गएकाले उनीहरूको हितमा समेत प्रभाव पर्न जाने कारण जन्मकैदको सजाय चर्को पर्न जाने हुँदा आठ वर्ष ६ महिना कैद सजाय गर्दा सजायको उद्देश्य पूरा हुने देखिएको ठहर्छ ।’

सर्वोच्चले धकेलाधकेलमा रञ्जनकी श्रीमती गीता ढकालको मृत्यु भएको भन्दै आवेशमा आई गरेको रिसबाट हत्याको अवस्था देखिएको भनी व्याख्या गरेको हो । नियोजित हत्याभन्दा आवेश र आक्रोशमा हुने हत्यामा कम सजाय गर्ने फौजदारी न्यायको सिद्धान्त हो ।